रौतहट । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशङ्कामा मकवानपुर प्रहरीले रौतहटका तीन युवालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा रहेका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, ४३ थान सिमकार्ड र ४ थान चेकबुक बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८३ असोज २२ गते दिउँसो करिब ४ बजे हेटौँडा उपमहानगरपालिका–५, सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा डेराकोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरूले आपराधिक गतिविधि गरिरहेको विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त कोठामा कानुनबमोजिम खानतलासी गरेको थियो। खानतलासीका क्रममा रौतहटको कटहरिया नगरपालिका–८ का अन्दाजी १९ वर्षीय अजय कुमार यादव, सोही स्थानका अन्दाजी १९ वर्षीय पवन कुमार दास तथा बौधिमाई नगरपालिका–६ का अन्दाजी २१ वर्षीय रोशन राय यादव पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, एनसेलका प्रयोग भइसकेका २२ थान सिमकार्ड, सिलप्याक अवस्थामा रहेका २१ थान सिमकार्ड र अन्य व्यक्तिका नाममा रहेका ४ थान चेकबुक बरामद गरेको जनाएको छ।>
बरामद सामग्री के प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा सोधपुछ गर्दा उनीहरूले सिमकार्डको प्रयोग तथा प्राप्तिको स्रोत खुलाउन नसकेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।>
बरामद सामग्रीसहित तीनै जनालाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।>>