रौतहट, १५ फागुन — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नं. ३ की उम्मेदवार पुनम यादव ले आफ्नो उम्मेदवारीविरुद्ध योजनाबद्ध रूपमा अफवाह र भ्रामक प्रचार फैलाइएको भन्दै कडा आपत्ति जनाएकी छन्। उनले पराजयको डरले आत्तिएको समूहले गाउँ–गाउँमा दलाल परिचालन गरी “उम्मेदवारी फिर्ता भइसकेको”, “केन्द्रबाट गोप्य सम्झौता भएको” जस्ता निराधार हल्ला चलाइरहेको आरोप लगाइन्।>
नेपाली कम्युनिस्ट पार्टी बाट उम्मेदवार रहेकी यादवले आफ्नो उम्मेदवारी कानुनी रूपमा यथावत् रहेको स्पष्ट पार्दै भनिन्, “मेरो उम्मेदवारी खारेज भयो वा केन्द्रबाट सम्झौता भयो भन्ने कुरा सरासर झुट्टा, कपोलकल्पित र नियोजित दुष्प्रचार हो।”>
उनले आफू भ्रष्टाचार, हत्या, तानाशाही, लुटतन्त्र र परिवारवादसँग कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिँदै यस्ता आरोप आफ्नो राजनीतिक छवि धूमिल पार्ने नियतले फैलाइएको बताइन्। “हिम्मत छ भने खुला मञ्चमा आएर बहस गरौँ। पर्दा पछाडि बसेर अफवाह फैलाउने कायर राजनीति अब चल्दैन,” उनले चुनौती दिइन्।>
यादवले निर्वाचन आयोगको आचारसंहिता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै स्वच्छ प्रतिस्पर्धामा चुनाव लडिरहेको बताउँदै मतदाता, बुद्धिजीवी, नागरिक समाज र शुभेच्छुकहरूलाई भ्रममा नपर्न आग्रह गरिन्।>
उनले केन्द्रीय नेतृत्वलाई समेत सचेत गराउँदै पुष्पकमल दाहाल र माधव कुमार नेपाल लाई भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरिन्। “म यादवकी छोरी हुँ, कसैको दबाब र षड्यन्त्रमा पर्नेवाली छैन,” उनले दृढ स्वरमा भनिन्।>
यादवका अनुसार २०८२ फागुन २१ गते मत परिणाम सार्वजनिक नहुँदासम्म आफ्नो उम्मेदवारी पूर्ण रूपमा कायम रहनेछ। “वर्षौंदेखि भ्रष्टाचार, हत्याहिंसा, शोषण र अर्बौंको सम्पत्ति थुपारेर बसेको समूहको हार यसपटक निश्चित छ,” उनले दाबी गरिन्।>
उनले अन्त्यमा रौतहट–३ का मतदातालाई ‘तारा छाप’मा मतदान गरी परिवर्तनको पक्षमा उभिन आह्वान गर्दै भनिन्, “जति भ्रम फैलाए पनि म पछाडि हट्ने छैन। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”>>