कांग्रेसको १५औँ महाधिवेशन सुरु, आजदेखि वडा तहमा नेतृत्व चयन

Naya Sansar Online TV 82+ समाचार ( )
३ अशोज २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुँदैछ। पार्टीको नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाको सुरुवातस्वरूप देशभरका वडामा आज र भोलि अधिवेशन हुँदैछ।

वडा अधिवेशनबाट वडा कार्यसमितिसँगै महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिसमेत चयन हुनेछन्। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। अन्ततः यही महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछन्।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या भने फरक–फरक रहनेछ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार वडा अधिवेशनका लागि देशभरका वडामा निर्वाचन अधिकृत पुगिसकेका छन्। रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नं. १ बाहेक अन्य क्षेत्रमा वडा अधिवेशनको तयारी भइरहेको उनले जानकारी दिएका छन्।

तर, कांग्रेसको यो महाधिवेशनमा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी नहुने भएको छ। देउवा समूहले आगामी मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको जनाएको छ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस दुई समूहमा विभाजित अवस्थामा रहेको छ। आजबाट सुरु भएको वडा अधिवेशनले भने पार्टीको आगामी केन्द्रीय नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार