प्रभु साहलाई पुनम यादवको प्रश्न: “नारा धेरै, विकास कति?

Naya Sansar Online TV 62+ समाचार ( )
४ फाल्गुन २०८२

आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नं. ३ बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार पुनम यादव यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छिन्। यसै क्रममा विकास पुरुषको छवि बनाइएका र पटक–पटक निर्वाचित हुँदै आएका प्रभु साह को गृह नगरपालिका क्षेत्रमा पुगेर उनले आधारभूत पूर्वाधारको अवस्थाबारे प्रश्न उठाएकी छन्।

घरदैलोका क्रममा स्थानीयले धेरै टोलमा अझै पक्की बाटो, व्यवस्थित नाला, खानेपानी तथा आधारभूत विकास संरचनाको अभाव रहेको गुनासो गरेका थिए। यस सन्दर्भमा पुनम यादवले भनिन्, “वर्षौंदेखि विकासका नारा लागिरहे, तर जनताले प्रत्यक्ष रूपमा के पाए? आफ्नै गृह नगरमा आधारभूत सुविधा सुनिश्चित गर्न नसक्ने नेतृत्वले क्षेत्रको समग्र विकास कसरी सुनिश्चित गर्छ?”

प्रभु साहप्रति लक्षित गर्दै उनले विकासको दाबीभन्दा वास्तविक परिणाम महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिन्। उनका अनुसार अब मतदाताले नाराभन्दा कामको मूल्यांकन गर्नुपर्ने समय आएको छ।

घरदैलो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो। उपस्थितहरूले सडक, नाला, खानेपानी तथा अन्य आधारभूत संरचनासम्बन्धी समस्या राख्दै ठोस पहलको अपेक्षा व्यक्त गरेका थिए।

पुनम यादवले आगामी निर्वाचनलाई “परिणाममुखी नेतृत्व रोज्ने अवसर” का रूपमा व्याख्या गर्दै विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याइन्।

पुनम यादवले आज माैलापुर नपा अन्तर्गत पर्ने विभिन्न टोल मा घरदैलो र भेटघाट कार्यक्रम गरेकी थिईन्।

प्रतिक्रिया

सम्बन्धित समाचार