बारा — बाराको परवानीपुर गाउँपालिका–१ रहरिया हिडमा एकै परिवारका आमा र छोराको हत्या प्रकरणमा बुहारीकै मुख्य भूमिका रहेको निष्कर्ष प्रहरीले निकालेको छ। विवाहेत्तर सम्बन्धका कारण उत्पन्न विवादले भयावह रूप लिँदा बुहारीले प्रेमीको सहयोगमा आफ्नै श्रीमान् र सासुको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको हो।>
१४ माघको बिहानीपख करिब २ बजे ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। सुरुमा घरमा अपरिचित पाँच जनाको समूह प्रवेश गरी आक्रमण गरेको सूचना प्राप्त भए पनि गहिरो अनुसन्धानपछि घटनाको जरो घरभित्रै रहेको खुलेको हो।>
घटनामा सुमित्राका श्रीमान् ५० वर्षीय जगरुप मण्डल र २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका थिए। उनीहरूको हाल उपचार जारी रहेको प्रहरीले जनाएको छ।>
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार मृतक राम ईश्वरकी पत्नी २३ वर्षीया मनिता देवी मण्डलले विवाहेत्तर सम्बन्धका कारण आफ्ना प्रेमीलाई दुबईबाट नेपाल बोलाएर हत्या गराएको देखिएको छ। मनिताको बाराकै प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुकसँग प्रेम सम्बन्ध रहेको र सो कुरा परिवारलाई थाहा पाएपछि घरभित्र विवाद चर्किएको थियो।>
प्रहरीका अनुसार त्यसैको बदला लिन मनिताले दुबईमा रहेका प्रेमी धर्मेन्द्रलाई नेपाल बोलाएकी थिइन्। धर्मेन्द्र ११ माघमा काठमाडौं आइपुगेका थिए र घरपरिवारसँग सम्पर्क नगरी सीधै मनितासँग सम्पर्कमा पुगेका थिए। दुवै जनाबीच योजना बनेपछि १४ माघको राति हत्या गरिएको प्रहरीले जनाएको छ।>
>
हाल मनिता देवी मण्डल र धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरी कर्तव्य ज्यानको कसुरमा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।>>