जेनजी आन्दोलनमा सक्रिय रोहितको विदेश यात्राअघि नै त्रिशूलीमा अन्त्य

Naya Sansar Online TV 62+ समाचार ( )
१२ फाल्गुन २०८२

परिवारको आर्थिक अवस्था उकास्ने सपना बोकेर संघर्ष गरिरहेका २२ वर्षीय रोहित नेपालीको आइतबार राति १ बजे धादिङमा भएको सवारी दुर्घटनामा ज्यान गएको छ।

अल्लारे उमेरमै केही गरेर देखाउने अठोटका साथ रोहितले पोल्ट्री फार्म सञ्चालन गरे। कुखुरा र अण्डा बेच्दै बजार–बजार डुले। गाउँका तरकारी पोखरासम्म पुर्‍याउन गाडीसमेत किने। तर बजार व्यवस्थापन गर्न नसक्दा पोल्ट्री फार्म केही समयमै चौपट भयो। लगानी डुबेपछि उनी र उनका दाजुभाइ अन्य व्यापार र रोजगारीको खोजीमा भौंतारिन बाध्य भए।

नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास कमजोर बन्दै जाँदा रोहितका दाइ युरोपतर्फ लागे भने रोहित रोजगारीका लागि यूएई पुगे। तर त्यहाँ पनि अपेक्षा अनुसारको काम नपाएपछि एक वर्षमै स्वदेश फर्किए। विदेशमा समेत धोका र असहज परिस्थिति भोगेपछि उनी फेरि देशमै केही गर्ने सोचमा फर्किएका थिए।

देशमा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनमा पनि रोहित सहभागी भएका थिए। देशमै उत्पादन र रोजगारी सिर्जना हुनुपर्ने माग गर्दै उनी सडकमा उत्रिएका थिए।

उनका छिमेकी पदम नेपालका अनुसार, “पोल्ट्री फार्ममा गरेको लगानी डुबेपछि उनी निकै आक्रोशित थिए। दुबई गए पनि कम्पनीबाट धोका पाएर फर्किए। देशमै केही गर्ने चाहना थियो, तर अवसर नपाउँदा निराश बनेका थिए।”

परिवारका लागि उनका बुवा चन्द्रबहादुर वर्षौंदेखि भारतको मेघालयमा मजदुरी गर्दै आएका छन्। बुवाको पसिना र ऋणसमेत जोडेर सुरु गरिएको व्यवसाय असफल भएपछि परिवार आर्थिक दबाबमा थियो।

पछिल्लो समय फेरि विदेश जाने तयारीमा रहेका रोहित भारतको बाटो हुँदै सर्बिया जाने क्रममा थिए। सुरक्षित भविष्यको आशामा देश छाड्ने तयारीमै रहेका उनी धादिङ दुर्घटनामा परेर सधैंका लागि अस्ताएका छन्।

संघर्ष, आशा र निराशाबीच जुधिरहेका एक नवयुवाको दुःखद अन्त्यले गाउँ शोकमग्न बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार