गगन थापा ले आफू चुनाव लड्न मधेश झर्दा सुरुवातमा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी समाजसँग आत्मीय सम्बन्ध गाँस्ने प्रक्रिया सुरु भइसकेको बताएका छन्। शनिबार सर्लाही–४ को रामनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।>
उनले भने, “म यहाँ आउँदा गाउँ नयाँ थियो, ठाउँ नयाँ थियो, धेरै कुरा नयाँ थिए—पहिरन नयाँ, खाना नयाँ। तर म यहाँ नाता जोड्नै भनेर आएको हुँ, र त्यो नाता अब विस्तारै गहिरिँदै गएको छ।”>
सभापति थापाले आफूलाई चुनाव जित्नकै लागि सर्लाही आउन आवश्यक नभएको दाबी गर्दै काठमाडौंबाटै सहज राजनीतिक वातावरण रहेको उल्लेख गरे। “सभापति भइसकेपछि काठमाडौंमा अनुकूलता नै अनुकूलता थियो। तर म नयाँ सोच र नयाँ सन्देशसहित मधेश आएको हुँ,” उनले भने।>
उनका अनुसार कांग्रेसको नेतृत्व मधेशसँग ऐतिहासिक रूपमा जोडिएको छ। उनले स्मरण गराए कि बिपी कोइराला ले २०३६ सालको जनमत संग्रहपछि राजाले गठन गरेको संशोधन समितिलाई दिएको सुझावमा मधेशका नागरिकलाई नागरिकता दिनुपर्ने विषयलाई प्राथमिकतामा राखेका थिए।>
“त्यसैले कांग्रेस मधेशमा आगन्तुक होइन, मधेशकै अंग हो। कांग्रेसको जरा यहीँ छ,” उनले जोड दिए।>
>
मधेशबाटै जितेर कांग्रेसलाई बलियो सन्देश दिनुपर्ने आवश्यकता महसुस गरेर आफू सर्लाही–४ बाट उम्मेदवार बनेको थापाको भनाइ थियो। उनले मधेशमा कांग्रेसलाई फेरि मजबुत बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।>>