बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा बुहारीसहित एक युवक पक्राउ परेका छन्। ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको बुधबार बिहानीपख राति आफ्नै घरमा हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।>
उक्त आक्रमणमा परिवारका अन्य सदस्य ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएसआर न्यूरो अस्पतालमा उपचार भइरहेको छ।>
प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा मृतक रामेश्वरकी पत्नी (बुहारी) र अर्का एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ परेका युवक २६ जनवरी (१२ माघ) मा मात्र दुबईबाट नेपाल फर्किएका थिए। उनी दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिए लगत्तै बारा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।>
प्रहरी अनुसन्धानका अनुसार ती युवक र बुहारीबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरिएको छ। सो सम्बन्धबारे परिवारमा जानकारी पाएपछि उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा आमा र छोराको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।>
‘बुहारीकै मिलेमतोमा विदेशबाट आएका युवकसँग मिलेर हत्या गरिएको देखिन्छ। घटनाका सबै पाटोहरू थप अनुसन्धानपछि स्पष्ट हुनेछन्,’ एक अनुसन्धान अधिकृतले बताए।>
>
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।>>