‘दलितलाई विशेषाधिकार चाहिन्छ’ — प्रचण्डको शक्तिशाली प्राधिकरण गठनको घोषणा

Naya Sansar Online TV 62+ समाचार ( )
१२ फाल्गुन २०८२

काठमाडौँ — पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको समग्र उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गरिने घोषणा गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको प्रतिबद्धतापत्रमा दलित विकास प्राधिकरण गठनलाई उच्च प्राथमिकतामा राखिएको बताए। उक्त प्राधिकरणले दलित समुदायको शिक्षा, रोजगारी, आर्थिक सशक्तीकरण र सामाजिक न्यायका कार्यक्रमलाई मार्गनिर्देशन गर्ने स्पष्ट पारे।

संयोजक दाहालले राज्यका सबै तहमा दलित समुदायलाई विशेषाधिकार सुनिश्चित गर्न आफ्नो पार्टी निरन्तर संघर्षरत रहेको उल्लेख गरे। “संविधानसभाबाट जारी नेपालको संविधानमा दलितका हकअधिकार लिपिबद्ध छन्, तर त्यो अझै पर्याप्त छैन। हामीलाई विशेषाधिकार प्राप्त गर्नुछ,” उनले भने।

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले दलित विकास प्राधिकरण गठन गर्ने निर्णय गरी बजेटसमेत विनियोजन गरेको दाबी गर्दै त्यसपछिका सरकारले कार्यान्वयन नगरेको आरोप लगाए।

उनले पार्टी गठनपछि क्रान्तिकारी तथा वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण सुरु भइसकेको जनाउँदै छिट्टै सम्पूर्ण वामपन्थी शक्तिहरू एकै ठाउँमा उभिने दाबीसमेत गरे।

उनको उक्त घोषणालाई दलित अधिकार र सामाजिक न्यायका पक्षधरहरूले चासोका साथ हेरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार