भारतबाट कुखुरा तस्करी, रौतहटका किसानको व्यवसाय संकटमा

Naya Sansar Online TV 75+ समाचार ( )
२७ भाद्र २०८३

रौतहट । खुला सीमाको फाइदा उठाउँदै भारतबाट भइरहेको अवैध बोइलर कुखुराको आयातले रौतहटका स्थानीय कुखुरापालक किसान तथा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। भारतीय कुखुराको तस्करी नरोकिँदा लाखौँ रुपैयाँ लगानी गरेका स्वदेशी किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सिर्जना भएको व्यवसायीहरूले बताएका छन्। रौतहटका रामपुरखाप, बंकुल, नरकटिया, खापघिउरा र मोतिपुर मट्सरीलगायत सीमावर्ती नाकाबाट दैनिक ठूलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्रिने गरेको जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घको आरोप छ।

सङ्घका अनुसार भारतबाट भित्र्याइएका कुखुरालाई सुरुमा नेपालकै फार्ममा राख्ने र पछि स्वदेशी उत्पादनको नक्कली बिल बनाएर बजारमा पठाउने धन्दा भइरहेको छ। यसले नेपाली किसानले उत्पादन गरेको कुखुरासँग अस्वस्थ प्रतिस्पर्धा बढाएको व्यवसायीहरूको भनाइ छ।

भारतीय कुखुरा सस्तो, नेपाली किसानको लागत महँगो

भारतमा प्रतिकिलो करिब १ सय ७१ रुपैयाँमा पाइने कुखुरा तस्करीमार्फत नेपाल ल्याएर करिब २ सय ५० रुपैयाँमा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्। यता, दाना र औषधिको मूल्य वृद्धिका कारण नेपाली फार्ममा उत्पादित कुखुराको लागत नै प्रतिकिलो करिब २ सय ६० रुपैयाँ पुग्ने गरेको छ।

भारतीय कुखुराको सस्तो मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी किसानले लागतसमेत उठाउन नसकेको जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घका सचिव राधेश्याम साहले बताउनुभयो। उहाँका अनुसार तस्करी नरोकिए रौतहटको कुखुरा व्यवसायमा संलग्न हजारौँ किसानको लगानी जोखिममा पर्नेछ।

प्रहरी–बिचौलिया मिलेमतोको आरोप

सचिव साहले सीमा क्षेत्रमा खटिएका प्रहरी र बिचौलियाबीचको मिलेमतोका कारण कुखुरा तस्करी मौलाएको आरोप लगाउनुभयो। किसानहरूले ज्ञापनपत्र बुझाउने, धर्ना तथा अनसनजस्ता विरोध कार्यक्रम गरे पनि प्रशासनले प्रभावकारी कदम नचालेको उहाँको गुनासो छ। व्यवसायीहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा बिचौलियामाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले वास्तविकता बुझेर आवश्यक कदम चालिने आश्वासन दिनुभएको भए पनि सीमावर्ती नाकाबाट कुखुरा भित्रिने क्रम नरोकिएको व्यवसायीहरूको दाबी छ।

तस्करीले किसानसँगै उपभोक्ताको स्वास्थ्यमा पनि जोखिम

अवैध रूपमा भित्र्याइने कुखुराको क्वारेन्टाइन तथा स्वास्थ्य परीक्षण नहुने भएकाले पशुपन्छीजन्य रोग फैलिन सक्ने जोखिमसमेत रहेको व्यवसायीहरूले बताएका छन्। यस्तो अवस्थाले किसानको खोर रित्याउने मात्र नभई उपभोक्ताको स्वास्थ्यमा समेत असर पार्न सक्ने उनीहरूको चिन्ता छ।

भारतीय कुखुराको तस्करी तत्काल नियन्त्रणमा नलिए रौतहटको समग्र कुखुरा व्यवसाय नै धराशायी हुने चेतावनी दिँदै व्यवसायीहरूले प्रशासनसँग प्रभावकारी अनुगमन, तस्करी नियन्त्रण र दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार