रौतहट–३ की महिलामा नयाँ ऊर्जा: “अब हाम्रो आवाज संसदसम्म” — पुनम यादव

Naya Sansar Online TV 62+ समाचार ( )
११ फाल्गुन २०८२

आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नं. ३ बाट उम्मेदवार बनेकी पुनम यादव यतिबेला घरदैलो र महिला संवाद कार्यक्रममा सक्रिय देखिएकी छन्। गाउँ–गाउँमा पुगेर उनले आमआमा, दिदीबहिनी र युवतीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको पीडा, संघर्ष र अपेक्षा सुन्दै आएकी छन्।

भेटघाटका क्रममा धेरै महिलाले रोजगारीको अभाव, स्वास्थ्य सेवामा पहुँचको समस्या, सिपमूलक तालिमको कमी, वैदेशिक रोजगारीका कारण परिवारमा परेको असर, तथा घरेलु हिंसाजस्ता विषय उठाएका थिए।

यस सन्दर्भमा पुनम यादवले भावुक हुँदै भनिन्, “रौतहट–३ की छोरी–बुहारीको आवाज अब दबिने छैन। अब हाम्रो आवाज संसदसम्म पुग्नुपर्छ। महिलाको सम्मान, सुरक्षा र आत्मनिर्भरता मेरो पहिलो प्राथमिकता हो।”

उनले महिलालाई आत्मनिर्भर बनाउने विशेष कार्यक्रम, साना उद्यम प्रवर्द्धन, सिप विकास तालिम, सहुलियत ऋण तथा मातृ स्वास्थ्य सेवा विस्तारका योजना अघि सार्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा उपस्थित महिलाहरूले उत्साहपूर्वक समर्थन जनाउँदै यसपटक महिला नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए। धेरैले “अब आश्वासन होइन, परिणाम चाहिन्छ” भन्दै परिवर्तनको पक्षमा आवाज उठाएका थिए।

रौतहट–३ मा यसपटक महिलाको मत निर्णायक बन्ने आकलन गरिएको छ। घरदैलो कार्यक्रमहरूमा देखिएको महिला सहभागिता र समर्थनले पुनम यादवप्रति बढ्दो आकर्षणको संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार