रोल्पा। माघ २६ गते सोमबार नेपाल प्रहरी का केही जवानद्वारा १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट गरिएको घटना सार्वजनिक भएपछि जिल्लामा तरंग पैदा भएको छ। घटनामा घाइते भएकामध्ये १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्याइएको स्रोतले जनाएको छ। अस्पताल स्रोतका अनुसार उपचारपछि सबैलाई डिस्चार्ज गरिएको छ, तर अधिकांशको ढाड र तीघ्रामा नीलडाम देखिएको थियो।>
प्रत्यक्षदर्शीका अनुसार बेलुका करिब ६ बजे रोल्पा नगरपालिका–४ लिबाङ स्थित साततलेमा रहेको शहीद प्रतिष्ठान भवनको कभर्ड हलमा खाना खाएर फर्किएका निर्वाचन प्रहरीहरूलाई पुनः मेसतर्फ बोलाइएको थियो। स्रोतका अनुसार मोटरसाइकलमा आएका दुई प्रहरी जवानले निर्वाचन प्रहरीको व्यवहारबाट आफूहरू अपमानित भएको महसुस गरेको बताएका थिए।>
त्यसपछि ‘हाँस्ने को–को हो?’ भन्दै लाठी प्रहार गरिएको बताइएको छ। कुटिनेमा निर्वाचन प्रहरीको ४ नम्बर टोलीका १०४ जना रहेको स्रोतको दाबी छ। कुटपिटपछि केही निर्वाचन प्रहरीले प्रतिवाद गरेका थिए। त्यसक्रममा जिल्ला प्रहरीका अधिकारीले संलग्न जवानमाथि विभागीय कारबाही गर्ने आश्वासन दिएपछि घटना तत्कालै साम्य पारिएको थियो।>
तर उक्त आश्वासन कार्यान्वयन नभएको आशंका गर्दै निर्वाचन प्रहरीहरूले नै घटना बाहिर ल्याएको बताइएको छ।>
>
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्मा ले घटना भएको स्वीकार गरेका छन्। उनका अनुसार खाना खाएर फर्कने क्रममा अपशब्द प्रयोग भएपछि अनुशासन कायम गराउन प्रशिक्षकहरूले कडाइ गरेका थिए। “एक–दुई लाठी प्रयोग हुँदा केही गुनासो आएका हुन सक्छन्,” उनले भने। उनले घटनालाई सामान्य अनुशासनात्मक कडाइका रूपमा व्याख्या गर्दै संलग्न जवानमाथि विभागीय कारबाही गरिसकिएको दाबी गरेका छन्।>>