>
रौतहट । रौतहटको फतुवा बिजयपुरमा नेपाली कांग्रेस नगर समितिद्वारा संविधान २०७२ को रक्षा र लोकतन्त्रको संरक्षणका लागि विरोध प्रदर्शन गरिएको छ।>
शुक्रबार गरिएको प्रदर्शनमा सहभागीहरूले संविधानमाथि बढ्दो खतरा, विदेशी हस्तक्षेप र देशलाई सैन्यकरणतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै विरोध जनाए। उनीहरूले संविधानको रक्षा, राष्ट्रपतिलाई सक्रिय भूमिका, भ्रष्टाचार र बेथितिको अन्त्य तथा लोकतन्त्रको पुनर्बहालीको माग उठाए।>
नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवले प्रदर्शनलाई सम्बोधन गर्दै, “विदेशी हस्तक्षेप बढ्दै गएको छ, भ्रष्टाचार र बेथितिले मुलुकलाई संकटतर्फ धकेल्दैछ। संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सडकमा उत्रिएको हो,” भने।>
त्यसैगरी, फतुवा विजयपुर नगरपालिकाका पूर्व मेयर तथा कांग्रेस नेता गोपाल राय यादवले वर्तमान संविधानभित्रै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै भने,>
“लोकतन्त्रसँग कुनै सम्झौता हुँदैन। विदेशी हस्तक्षेप र सैन्य गतिविधि लोकतन्त्रका लागि घातक छन्। भ्रष्टाचार र बेथिति अन्त्य नगरी देशको अवस्था सुध्रिँदैन।”उनले संविधान र व्यवस्थामाथि कुनै आँच आए कांग्रेसले सहयोग नगर्ने चेतावनी पनि दिए।>>