गौरीकुमारी हटाउने निर्णयमा बालेनको ‘एक्सन’, रवि भने अन्तिम समयसम्म रहे अनभिज्ञ

Naya Sansar Online TV 70+ समाचार ( )
२६ भाद्र २०८३

काठमाडौं । निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवलाई पदबाट हटाएर दीपक साहलाई उद्योगमन्त्री बनाउने प्रधानमन्त्री बालेन्द्र शाहको निर्णयले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नयाँ राजनीतिक बहस सुरु भएको छ।

प्रधानमन्त्री बालेन शाह गौरीकुमारी यादवको कार्यसम्पादनप्रति असन्तुष्ट रहेको जानकारी रास्वपा सभापति रवि लामिछानेलाई यसअघि नै दिइएको बताइएको छ। तर यादवलाई तत्काल हटाएर दीपक साहलाई मन्त्री बनाउने निर्णय भने लामिछानेलाई अन्तिम समयसम्म जानकारीमा थिएन।

यादव विगतमा रवि लामिछानेको कोटाबाट मन्त्री बनेकी थिइन्। त्यसैले आफ्नै कोटाबाट नियुक्त मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्दा पार्टी सभापतिसँग सामान्य परामर्शसमेत नगरिएको विषयलाई लामिछानेले गम्भीर रूपमा लिएको रास्वपा स्रोतको दाबी छ।

रास्वपा स्रोतका अनुसार मन्त्री नियुक्ति र हेरफेर प्रधानमन्त्रीको अधिकारभित्र पर्ने विषयमा सभापति लामिछाने स्पष्ट छन्। तर मन्त्री चयनजस्तो महत्वपूर्ण निर्णयमा पार्टी सभापतिलाई नै जानकारीबाहिर राखिनु उचित प्रक्रिया नभएको उनको बुझाइ रहेको बताइएको छ।

यता प्रधानमन्त्री कार्यालयले भने गौरीकुमारी यादवको कार्यसम्पादन कमजोर हुँदै गएको विषयमा रवि लामिछानेलाई पहिल्यै जानकारी गराइएको दाबी गरेको छ। कार्यालयका अनुसार पछिल्ला घटनाक्रमपछि यादवलाई हटाउनुपर्ने विषयमा लामिछाने पनि सहमत थिए।

तर नयाँ मन्त्रीका रूपमा दीपक साहलाई ल्याउने निर्णयबारे भने शपथग्रहणभन्दा केही समयअघि मात्रै जानकारी गराइएको प्रधानमन्त्री कार्यालयको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार