रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने प्रयासका कारण शुक्रबार गौर बजार तनावग्रस्त बनेको छ। स्थानीय व्यापारी तथा व्यवसायीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै सडकमा उत्रिएपछि कार्यालयका सामग्री बोकेको ट्रक नै रोकिन पुगेको हो।>
गौर बजारको केन्द्रभागमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालयका सामग्री चुपचाप सार्न खोजिएको भन्दै व्यापारीहरूले कडा विरोध जनाए। ट्रक बजारबाट बाहिरिन लाग्दा रौतहट उद्योग वाणिज्य संघ का पदाधिकारीसहित व्यवसायीहरू ट्रकअगाडि धर्नामा बसेका थिए।>
व्यवसायीहरूको अवरोधपछि ट्रकमा लोड गरिएका सामग्री पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको छ। सरकारले उक्त कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालय सिमरा मा गाभ्ने तयारी गरेको भनिएपछि स्थानीय तहमा असन्तोष चुलिएको हो।>
स्थिति तनावपूर्ण बन्दै गएपछि घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। व्यापारीहरूले कार्यालय गौरमै राख्नुपर्ने अडान दोहोर्याउँदै आवश्यक परे थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।>>>>>
>
>>>>