रौतहटमा उच्च सतर्कता : सेनाको बख्तरबन्द गाडीसहित व्यापक गस्ती, १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Naya Sansar Online TV 62+ समाचार ( )
१७ फाल्गुन २०८२

रौतहट। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले तैनाथ नेपाली सेना अन्तर्गतको श्री नारायणदल गण ले पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत जिल्लाभर व्यापक गस्ती सुरु गरेको जनाएको छ।

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित सुरक्षा निगरानी बढाएको हो। जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा एकैसाथ गस्ती परिचालन गर्दै सम्भावित जोखिम न्यूनीकरणमा ध्यान दिइएको सेनाको भनाइ छ। मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिइएको छ।

श्री नारायणदल गणका सुरक्षाकर्मीहरू रौतहटका सबै १७ वटै स्थानीय तहमा तैनाथ छन्। उनीहरूले नेपाल प्रहरीसशस्त्र प्रहरी बल नेपाल सँग समन्वय गर्दै संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन गरिरहेका छन्।

यसैबीच, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले निर्वाचन सुरक्षाका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको जानकारी दिए। उनले शान्तिपूर्ण वातावरण सुनिश्चित गरिएको उल्लेख गर्दै मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा रौतहटमा सुरक्षा सतर्कता उच्च पारिएको छ भने सरोकारवाला निकायहरूबीच समन्वयात्मक रूपमा तयारी तीव्र पारिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार